बागलुङ ,१९ भदौ ।
ढोरपाटनमा बुधबार राति आएको बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली बागलुङको ढोरपाटन पुगेको छ ।
खराब मौसमका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो ।
तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिनुभयो ।
बुधबार रातिको बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ ।
त्यहाँ ३० भन्द बढी घर बगाएको बताइएको छ । सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन ।
मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् ।

शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताउनुभयो ।

कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।
बस्ती भएको स्थानमा अहिले खोला बगेको छ ।