ललितपुर , १९ भदौ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिकाका रिङरोडक्षेत्र भित्र शुक्रबार १३ घण्टाका लागी कर्फ्यू आदेश जारी गरेको छ।
कर्फ्यू बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतले बताए।चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु लगाईएको छ ।
उनका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो।
बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो।ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पुर्याउने गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको हो । बिहीबार पुल्चोकमा अनुमतिबिना जात्रा अगाडि बढाएपछि प्रहरी र जात्रामा सहभागीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका थिए ।
स्थिति हेरेर शुक्रबारदेखि जारी गर्न लागिएको कर्फ्युलाई समेत बढाउन सकिने प्रजिअ भट्टले बताए । स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जनस्वास्थ्य लगायतमा असर पुग्न सक्ने गतिविधि भएमा/देखिएमा प्रजिअले निषेधाज्ञा, कर्फ्यु वा दंगाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार छ ।