भदौ १८ काठमाण्डौं । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमणको रिपोर्ट आएको जानकारी दिनुभयो ।
ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् उनी कोरोना सङ्क्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताउनुभयो । यसअघि मृतक महिलाको घरका अन्य तीन जना सदस्यमा भदौ ११ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
यसैबीच, रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा आज बिहान मृत्यु भएको हो ।हिजो मात्रै उनी अस्पताल भर्ना भएकी थिईन् । कोरोना अस्पतालमा भेन्टिलेटर र आईसोलेसन नभए पछि लुम्बीनी प्रादेशिक अस्पतालमा उनलाई राखेर उपचार शुरु गरिएको थियो ।
यस्तै, प्युठानमा पनि एक संक्रमितको मृत्यु भएको छ । गौतमबुद्ध अस्पतालमा उपचार गराइरहेका स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा आज बुटवलमा मुत्यु भएको हो ।
त्यस्तै, ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।भक्तपुर ठिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृगौला पीडित ती महिला भदौ ६ गते अस्पताल भर्ना भएकी थिईन् ।