भदौ १८ काठमाण्डौं । नेकपा भित्र लामो समयदेखि चलेको आन्तरीक विवादलाई पदसगँ जोडेर धेरै आलोचना भईरहे पनि नेताहरु त्यस्तै विवादबाट अझै मुक्त हुन सकेका छैनन् ।
लगातारको प्रयास पछि सहमतिको नजिक पुगेको भनिरहेका बेला नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच रिक्त रहेको राष्ट्रिय सभामा कसलाई लैजाने भन्नेमा अझै विवादमा रहेका छन् ।
त्यसै विवादका कारणले आज बिहान हुने भनिएको सचिवालयको बैठक समेत दिउसो सम्मका लागि स्थगित भएको छ । बैठक बिहान ११ बजे नबसी दिउसो तीन बजेका लागि सारिएको छ ।
यो बैठकले भदौ २० भित्र राष्ट्रिय सभाको रिक्त सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै पुनः नियुक्त गरेर मन्त्रालयको जिम्मेवारी दिईरहने या वामदेव गौतमलाई लैजाने भन्नेमा समेत छलफल हुने एक नेताले बताए ।
केही समय अघि सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले मन्त्रीपरिषद्बाट उक्त निर्णय गराएका थिएनन् ।
ओली खतिवडाकै निरन्तरताको लागि लागि परेका छन् भने प्रचण्ड गौतम सहितका नेता खतिवडालाई राष्ट्रिय सभामा लान नहुने पक्षमा रहेका छन् ।
अर्थमन्त्रीको राष्ट्रिय सभाको पदावधी सकिएको ६ महिना पुरा हुन लागेको छ । उनले संवैधानिक व्यवस्था अनुसार ६ महिना सम्म मन्त्री हुन पाउने भए पनि अब २० गते सम्म मात्रै उनको म्याद बाँकी रहेको छ ।
यस्तै सचिवालयको बैठकमा आज महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको सुझावहरुको बिषयमा समेत छलफल हुने जनाईएको छ ।