काठमाडौँ , १७ भदौ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाइ निरन्तरता दिदैँ थप सात दिनको लागी बढाइएको छ ।
सात दिनका लागि थपिएको निषेधाज्ञा २४ गते राति १२ बजेसम्म कायम रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण नघटेपछि जारी निषेधाज्ञालाई निरन्तरता दिनुपरेको दाहालले बताए।
प्रजिअ दाहालका अनुसार यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ।
जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खुल्ला राख्न दिने भएको छ । यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो।
यस्तै निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको दाहालले बताए।
यस्तै, यस अघि काठमाडौँ प्रवेशमा रोक लगाएको निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय प्रशासनले गरेको छ ।
यसैगरी, अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिइएको छ।
अब स्वाब परीक्षण गर्न दिएर होम क्वारेनटाइनमै बस्ने नियम कडाइसाथ लागू गरिएको दाहालले बताए।
स्वाब दिनेहरूलाई घरमै निगरानीमा राखिने दाहालले बताए।
यसअघि सरोकारवाला सबै पक्षसँग छलफल गरेर प्रशासनले गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएको थियो।
गृहले राय अनुमोदन गरेपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा निर्णयमा सामेल भएका थिए।
तर, यी सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने व्यवस्था रहेको दाहालले बताए ।