काठमाडौँ , १७ भदौ ।
कोरोना महामारीलाइ ध्यानमा राख्दै काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निश्कर्ष निकालेको हो ।
अबको निषेधाज्ञाको स्वरुप कस्तो बनाउने भन्ने बारेमा गृह मन्त्रालयमा छलफलमा भइरहेको छ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गृहको निर्देशन प्रतिक्षा गरिरहेका छन्। गृहको निर्देशनपछि तीनै प्रजिअको बैठक बसेर सूचना जारी हुनेछ।
गृहमन्त्रालयले दिने निर्देशनका आधारमा निषेधाज्ञाबारे थप छलफल र निर्णय हुने जानकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिइन्।
निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे छलफल भएको हो ।
नेपाल उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो।
उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। संक्रमण तीव्र हुँदै गएपछि लकडाउन खोलिएको दुई महिनापछि सरकारले फेरि निषेधाज्ञा जारी गरेको हो।
अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्।
अहिले उपत्यकासहित मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी छ। सरकारले सुरुमा चैत ११ गतेदेखि झन्डै चार महिना लकडाउन गरेको थियो।
अब थपिने पिषेधाज्ञाको मोडालिटि शुरुको जस्तै कि त्यो भन्दा फरक बनाउने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल भइरहेको छ । गृहको निश्कर्ष अपराहन्न आउने छ ।