भदौ १७ बीरगञ्ज । कोरोना संक्रमणका कारण बीरगञ्ज र भैरहवामा गरी दुई जनाको मृत्यु भएको छ । बीरगञ्जमा आज बिहान मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का ९७ वर्षीय पुरुष रहेका छन् ।
वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसीयूमा उपचाररत ती पुरुषको बुधबार बिहान १ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।
मुटुका रोगी रहेका ती पुरुषमा निमोनिया भएपछि भदौ १२ गते वीरगन्जकै तराई अस्पतालमा भर्ना गरिएको थियो।कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई भदौ १४ गते गण्डक अस्थायी कोभिड अस्पतालमा रिफर गरिएको थियो ।
ती वृद्ध निमोनिया रोगी रहेको बताईएको छ । वीरगन्जमा कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
यस्तै रूपन्देहीको भीम अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको गएराति पौने १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
नवलपरासी पश्चिम, रामग्राम–५ की उनलाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।
खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो ।