सुनसरी, १४ भदौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित आमा छोराको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । मृतक दुवैजना पौडेल थरका हुन् । मृत्यु हुनेहरू महिला र पुरूष सौतेनी आमा छोरा हुन् ।
साता अगाडीबाट अध्याधिक खोकी, श्वास फर्कन समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा आइतबार पोजेटिभ देखिएको थियो ।
यसैगरी दशदिन अगाडीदेखि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ नै भर्ना गरिएका पुरुषमा समेत आइतबार नै कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । पुरुषलाई समेत परिवारले शनिबार नै वीपीमै भर्ना गरेका हुन् ।
प्रवक्ता सापकोटाका अनुसार पुरुषमा विगत दुई महिनादेखि कलेजोमा समस्या देखिएको थियो । उहाँको आइतबार बिहान ७ः ४५ बजे मृत्यु भएको हो भने आमाको साढे ८ बजे मृत्यु भएको हो । चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको हो । अस्पताल ल्याइपुर्याउँदा नै दुवैको अवस्था गम्भीर रहेको प्रवक्ता सापकोटाले बताए । दुवैको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ जसमध्ये ५ जना धरानका छन् । धरान–१७ रेल्वेचोक बस्ने एकै घरका दुई जनाको मृत्यु भएपछि वडामा थप सतर्कता अपनाइएको वडाध्यक्ष मनोज भट्टराईले बताए ।