भक्तपुर,११ भदौ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका ९ नंखेलको बाँसघारीमा तेल बोकेको ट्यांकर र पानीको जार बोको गाडि ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् ।
भक्तपुरको जगातीबाट काभ्रेको साँगातर्फ जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्याङ्कर र विपरीत दिशाबाट आइरहेको बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको गाडी अरनिको राजमार्गमा ठोक्किएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
मृत्यु हनेमा झापाको अर्जुनधारा नपा २ बस्ने २६ वर्षीय मिलन मगर रहेका छन् भने मोरङको अमरदह गाउँपालिका ८ घर भई हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
यस्तै काभ्रेको साँगा घर भएकी २२ वर्षीया सृजना तामाङ र उनका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाईतेको भक्तपुर नपा १ सल्लाघारीस्थित डा.इवामुरा मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनापछि तेल बोकेको ट्यांकरका चालक फरार छन्।
फरार चालकको खोजि भईरहेको भक्तपुर प्रहरीले जनाएको छ। उक्त ट्यांकर सडकबाट धान खेतमा पल्टिएको छ। ट्यांकरको ठक्करले गाडीको अगाडिपट्टि चालक बस्ने भाग नराम्ररी कुच्चिएको छ।