झापा , १० भदौ ।
झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याको आरोपमा दिउसो पक्राउ परेका दोषिलाइ जिल्ला लाने क्रममा स्थानियवासीले प्रहरीटोली माथी हातपात गरेका छन् । हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ ।
झडपमा गोली लागि घाइते भएका ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा बेलुकी ९ बजेतिर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार आज अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय दुई व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो ।
साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा केही किलोमिटर पर कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको थापाले बताए ।
प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ । सम्झाउँदा नमानेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर झन् उत्तेजित भएर प्रहरीमाथि नै हातपात हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
स्थिती नियन्त्रणमा लिनका लागी प्रहरीले दश राउन्ड हवाइ फायर गरेको थियो ।
अहिले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो ।