भदौ १० काठमाण्डौं । सर्वोच्चले यस अघि समेत फरक आस्था र बिचारकै आधारमा पटक पटक किन थुनिएको हो भनेर कारण सोध्दै यसरी नथुन्न सरकारका नाममा पुनः आदेश दिएको छ ।
चन्द्र बहादुर चन्द बीरजंगलाई पटक पटक झुट्टा मुद्धा लगाएर थुनिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले मंगलबार कडा आदेश जारी गरेको हो ।
गृहमन्त्री राम बहादुर थापा र प्रहरी प्रधान कार्यलयलाई समेत निर्देशन दिईएको छ । यो पत्र गृह र प्रहरी प्रधानकार्यलयमा पुगेको छ ।
पक्राउपछि वस्तुनिष्ठ आधार कारण बिना एउटै व्यक्तिलाई चारवटा मुद्दा चलाइएको दाबीसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। उनलाई साउन १५ गते काभ्रेबाट पक्राउ गरी भोजपुर लगिएको थियो। उनी दुईवटा फरक मुद्दामा अदालतले मागेको ६० हजार रुपैयाँ बुझाउन नसकी जिल्ला कारागारमा रहेका बेला यो आदेश भएको हो ।
आदेश आएसँगै सर्वोच्चको आदेश बिपरीत पुनः चन्दलाई पक्राउ गरेर संखुवासभा लगिएको छ ।
सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले दिएको उक्त आदेशमा पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालतबाट स्पष्ट आधार बिना धरौटी माग गर्न र थुनामा पठाउने कार्य रोक्न भनिएको छ।
चन्द यसअघि पनि अघिल्लो वर्षको असोज ३० गते दाङमा पक्राउ परेका थिए। त्यहाँ पनि संगठित अपराध मुद्दा चलाइएको थियो। दाङ जिल्ला अदालतले तारेखमा छाड्न १५ हजार रुपैयाँ धरौटी माग गरे पनि बुझाउन नसकेर बीरजंग थुनामै रहेका थिए ।
त असार १५ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए। सोही दिनबाटै पुनः पक्राउ परेका चन्दलाई काभ्रे ल्याएर संगठित अपराधमा तीनवटा र आगजनीमा एकवटा मुद्दा चलाइयो। काभ्रे अदालतबाट साउन १५ गते साधारण तारेखमा छुटेपछि पुनः पक्राउ गरी भोजपुर पुर्याइएको थियो ।
भोजपुरबाट उनलाई रिहा भए लगत्तै सर्वोच्चको आदेश बिपरीत यस्तै प्रकृतिको मुद्धामा संखुवा सभा पुर्याईएको पारिवारीक स्रोतले जनाएको छ ।
‘स्पष्ट आधार र कारण बिना प्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै आधारमा मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नहुँदा’, सर्वोच्चको आदेशमा उल्लेख छ।
देशै भरी नेकपामाथि प्रतिवन्ध पछि पक्राउ परेका नेता कार्यकर्तालाई निरन्तर अड्डासार गर्दै लामो समय सम्म थुनामा राखिदै आएको छ ।
