भोजपुर, ९ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द ( बीरजंग ) साधारण तारिकमा रिहा भएलगतै पुनः पक्राउ परेका छन् ।
हातहतियार तथा साङ्गठनिक अपराधलगायत चार मुद्दामा पक्राउ पर्नुभएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भए पनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो ।
सर्वोच्च अदातलमा गैर कानुनी रूपमा कारगार चलान भएको भनि बन्दी प्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरू दीपक कार्की र प्रकाशमान सिं राउतको आदेशमा बिनाधरौती आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
भोजपुरबाट रिहा हुने बित्तिकै चन्दविरुद्ध सङ्खुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठनिक अपराधसम्बन्धी नै मुद्दा रहेकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रणमा लिएर भोजपुर ल्याइएको थियो ।
त्यस अघि दागंमा लामो समय जेलमा बसे पछि धरौटी बुझाएर छुटेका चन्दलाई काभ्रे ल्याईएको थियो । गत असोज ३० गते दागंबाट उनी पक्राउ परेका थिए ।
