भदौ ९ चितवन । नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु निरन्तर बढीरहेको छ । यसै क्रममा भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती संक्रमित एक साता अघि घरको छतबाट लडेर घाईते भएका थिए । लडेर घाईते भए पछि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरेर कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाईएको थियो ।
कोरोना देखिए पछि शिक्षण अस्पतालबाट उनलाई भीम अस्पतालमा हिजो सारिएको थियो ।
भीम अस्पताल कोभिड–१९ का फोकल पर्सन डा। सुमित प्रजापतिका अनुसार ती व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो ।
यस्तै नारायणी अस्पताल बीरगञ्जमा नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडि मृत्यु भएका पर्साका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ती वृद्धको उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।
मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनी मुटु रोगी थिए ।
पर्सामा नेपालमै सबै भन्दा धेरै संक्रमितको मृत्यु हुने जिल्ला बनेको छ । ३३ जना भन्दा बढीको सो जिल्लामा मात्रै कोरोनाले ज्यान लिएको छ ।
हाल सम्म नेपालमा आधिकारीक रुपमा एक सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टी भईसकेको छ ।