भदौ ६ काठमाण्डौं । नेकपा भित्र देखिएको विवाद समाधान गर्न बनेको महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले विभिन्न सुझाव सहितको प्रतिवेदन आज अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई बुझाएको छ ।
पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बालुवाटारमा उक्त प्रतिवेदन बुझाएको हो ।
सो प्रतिवेदन अनुसार सरकारको नेतृत्व अध्यक्ष केपी ओलीले गरीरहने र उनको राजीनामाको माग थाँती राख्ने, पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने सुझाव पेश भएको छ ।
यस्तै स्थायी समितिको नियमित एजेण्डामा छलफल गर्ने, अन्य सैद्धान्तिक आदि विषयलाई महाधिवेनले टुंगो लगाउने र महाधिवेशन चैत्रमा गर्न पनि सुझाव दिईएको बुझिएको छ ।
यस्तै मन्त्री परिषद् र प्रदेश सरकारमा समेत हेरफेर गर्न सुझाव पेश गरिएको छ ।
साउन ३० गते बनेको कार्यदलमा पौडेल बाहेक भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेका थिए ।
असार १० गते देखि शुरु भएको स्थायी समितिको बैठककै क्रममा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितले प्रधानमन्त्रीको राजीनामा मागे पछि नेकपा भित्रको विवाद चरम बनेको थियो ।