काठमाडौँ , ५ भदौ ।
सरकारले भदौं १६ गतेबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएकाे छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान सशर्त खुला गर्ने निर्णय गरेकाे हाे ।
आरटी/पीसीआर परिक्षण सहज भएका मुलुक तथा सहरबाट नियमित उडान खुला गरिएको जनाउँदै प्रवक्ता खतिवडाले परिक्षण सहज नभएकाे स्थानबाट उद्धार उडानमात्र गर्ने निर्णय गरिएकाे बताए । एक दिनमा यात्रुको आगमन संख्या ५ सय तोकिएको छ ।
प्रवक्ता डा. खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको जानकारी दिएका छन् । खतिवडाका अनुसार पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भएकाले सरकारले उक्त निर्णय गरेको हो।
‘आरटी/पीसीआर परीक्षण सहज भएका मुलुक/सहरहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मलुकबाट नेपाल सरकारको अनुमति पाएका नेपाली नागरिकहरु र नेपालस्थित विदेशी नियोगका कटुनितिज्ञ तथा कर्मचारीहरु, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्ने,’ निर्णय भएकाे खतिवडाले बताए ।
उनका अनुसार, भदौं १६ पछि हुने नियमित उडान तालिका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने छ । तर, आरटी/पीसीआरको व्यवस्था सहज नभएका मुलुकबाट तत्काल नियमित उडान हुने छैनन् । ‘ जस्तै साउदी अरब, कुबेत, कतार र अन्य मुलुकबाट नियमित यात्रु ल्याउन पाइने छैन,’ मन्त्री खतिवडाले भने ।
खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुकोलागी अर्को विकल्प रहेको पनि बताउनुभएको छ । उहाँका अनुसार त्यस्ता मुलुकबाट स्वदेश आउन चाहाने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने रहेको छ ।
नेपाल आउन खुला गरिएका मुलुकबाट आउने यात्रुले ७२ घन्टा अघिको आरटी/पीसीर नेगेटीभ भएको रिपोर्ट बुझाउनुपर्ने छ । त्यस्तै नेपाल आउने यात्रुहरुले विदेशबाटै कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेभसाइटमा रहेको फर्म अनिवार्य भरेर साथै ल्याएर आउनुपर्ने छ । हार्डकपी नभएमा बारकोड बुझाउनुपर्ने छ । त्यस्तै ७ दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होटलको बुकिङ पनि अनिवार्य गरिएको छ । यी सबै गरेमा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका प्रकाशन गर्नुपर्ने छ ।
आरटी/पीसीर नेगेटीभ भएको रिपोर्ट बुझाएर आएका यात्रुहरुको होटलको बसाइ सकिएपछि नेपालमा पुन परीक्षण हुनेछ । उनीहरुको रेकर्ड राखिने छ । त्यसपछि ती यात्रुहरुले थप १४ दिन होम क्वारेन्टाइन पनि बस्नुपर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने छ । ‘१४ दिन होम क्वारेन्टाइनको अनुगमन’ को जिम्मेवारी मन्त्रिपरिषदले स्थानीय तहलाई दिएको छ ।
मन्त्रीपरिषदले होटल क्वारेन्टाइनमा बस्नुपर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टाइनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्चसमेत उठाउन वायुसेवा कम्पनीलाई अनुमति दिएको छ । यसरी उठाइएको होटलको खर्च वायुसेवा कम्पनीले नै होटललाई तिर्नुपर्ने छ ।