भदौ ५ काठमाण्डौं । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट र पूर्व उपप्रधानमन्त्री भीम रावल सेनाको स्काईट्रकमा प्रस्थान गरेका छन् ।
राहत सामाग्री लिएर सुर्खेत सम्म स्काईट्रकमा र त्यस पछि सुर्खेतबाट सेनाकै एम आई १७ हेलिकप्टर मार्फत अछाम जाने कार्यक्रम रहेको बुझिएको छ ।
टोलीमा सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायत छन् ।
अछाम लगिएका राहत सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ । नेकपा नेता एवम् सांसद भीम रावलले पनि ११ वटा त्रिपालको व्यवस्था गरेका छन् । १ हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री छन् ।
अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् ।
दर्जनौ घर र थुप्रै खेत बगाएको छ ।
