काठमाडौं, ३ भदौ ।
कोरोना भाइरसको संक्रमण दर बढेपछि उपत्यकासहित देशभरका ४० जिल्लामा निषेधाज्ञा तथा सिल गरिएको छ ।
गृहमन्त्रालयका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकारअन्तर्गत कतै विशेष क्षेत्र र कतै जिल्लाभर निषेधाज्ञा र निश्चित सेवा सञ्चालनमा रोक लगाइएको हो ।
मुलुकका २९ जिल्लामा निषेधाज्ञा, ७ जिल्लामा लकडाउन र २र२ जिल्लामा सिल र सेवा बन्द गरिएको गृहमन्त्रालयले जनाएके छ ।
यस्तै २१ जिल्लामा पूर्ण र १९ जिल्लामा आंशिक बन्द तथा निषेधाज्ञा जारी गरिएको छ । कास्की, अर्घाखाँची, लमजुङ, गोरखा, बागलुङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, दोलखा, चितवन, रामेछाप, पाल्पा, सुर्खेत, उदयपुर, तनहुँ, धनकुटा, रुकुम पश्चिम, धादिङ, कपिलवस्तु, मकवानपुर, रूपन्देही, रौतहट, उपत्यकाका तीनवटै जिल्ला, झापा, दार्चुला, मोरङ, बर्दिया, जुम्ला, सिरहा, स्याङ्जा, सर्लाही, सुनसरी, महोत्तरी, बारा, पर्सा, बाँके, नुवाकोट, सप्तरी र धनुषामा कतै पूरै र कतै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा अटेर गरेमा कार्वाहि गर्ने सरकारले चेतावनी समेत दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा भने आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउन संक्रामक रोग ऐन, २०२० अनुसार केन्द्रित रहेकोले यसको उल्लंघन गर्दा कारबाहीको सट्टा सावधानी अपनाउन जोड दिएको बताउनु भयो ।
उहाँले यो प्रशासनिक आदेश एक किसिमको बल प्रयोग पनि भएकोले तोकिएकाबाहेक गतिविधि नगर्न आग्रह पनि गर्नुभयो । उहाँले अटेर गरे बल प्रयोग हुने चेतावनी दिदै कैद र जरिवाना तिर्नुपर्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
लकडाउन, कर्फ्यु वा निषेधाज्ञा वा प्रतिबन्ध जुन शब्दमा बुझे पनि उपत्यकाका तीन जिल्लाले बुधबार रातिदेखि लागू गरेको आदेशसँगै यो एक साता अत्यावश्यक काम र प्रशासनले अनुमति दिएको हकमा बाहेक कोही बाहिर निस्कियो भने सुरक्षाकर्मीले पक्राउ गरेर थुनामा राख्न सक्ने उहाँले बताउनु भयो ।