काठमाडौँ भदौ २ । रुसले नेपालले चाहेमा आफ्नो देशले उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिन चाँडै उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपालका लागि रुसका राजदूत एलेक्से नोविकोभले आज राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासगँको भेटमा सो प्रतिवद्धता जनाएका हुन् ।
राजदूत नोविकोभले रुसले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउने पनि जानकारी दिए ।
राजदूतले नोविकोभले रुसमा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरसले गर्दा विश्व आक्रान्त बनेको र विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजिमा लागिरहेको भन्दै हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको प्रतिकृया दिएका थिए ।