साउन ३२ काठमाण्डौं । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अंकित लोगो आजबाट सांसदहरुलाई वितरण गर्न शुरु भएको छ ।
आज पहिलो चरणमा संघीय संसदका महासचिव भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाललाई लोगो हस्तान्तरण गरेका छन् ।
सभामुख, अध्यक्ष र उपाध्यक्ष दहालले आजैदेखि नयाँ लोगो लगाउन सुरु गरेका छन् ।
त्यसै गरी अन्य सांसदहरुलाई पनि आजै लोगो दिन लागिएको छ ।
गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो ।
दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।