साउन ३२ बीरगञ्ज । वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालबाट शनिबार कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमण निको भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको चार घण्टा मै वीरगन्जमा एक जनाको शंकास्पद मृत्यु भएको हो ।
नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रिपोर्ट नगेटिभ आएपनि उनको स्वास्थ्यमा समस्या रहेकोले शनिबार सांझ ७ बजे वीरगंज स्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो । वयोधा अस्पतालले आइसियु कक्षमा राखेर उपचार गर्ने क्रममा शनिबार राति ११ बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार कोरोना रिपोर्ट नगेटिभ आएपनि मृतकमा कोरोनाको सम्पूर्ण लक्षण रहेको थियो ।
कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले कलवारलाई थप उपचारका लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले कलवारलाई कोभिड अस्पतालबाट डिस्चार्ज भएपछि वीरगन्जमै रहेको नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए ।
नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमा परिवारजनको शंका उत्पन्न भएको छ ।
मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका थिए । तर पछि मृतकका आफन्तहरु शव बुझेर लगेको वयोधा अस्पतालले जनाएको छ ।