नेपालमा एकैदिन कोरोनाबाट १० जनाको मृत्यु

नेपालमा एकैदिन कोरोनाबाट १० जनाको मृत्यु

  • बुधबार, साउन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

काठमाडौं, २८ साउन । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा धनुषाका २ तथा काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एक जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

विराटनगर र मोरङमा आज मृत्यु भएका २ जनाको भने मन्त्रालयले औपचारिक जानकारी गराउन बाँकी छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीया महिलाको आज संक्रमणका कारण मृत्यु भएको छ । उनी ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा उपचाररत थिइन् ।

धादिङ निलकण्ठ नगरपालिका–१४ निवासी ३२ वर्षीय पुरुषको उपचारका क्रममा हिजो ह्याम्स अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित उनी क्षयरोगी थिए ।

कपिलवस्तु नगरपालिका–२ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको आज मृत्यु भएको छ । ज्वरो तथा निमोनिया भइ उनी साउन २५ गते बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए । उनमा हिजो कोरोना पुष्टि भएको थियो ।

धनुषा जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणका कारण गएराति मृत्यु भएको छ । १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मन्त्रालयले आजै गिरिको मृत्यु संक्रमणका कारण भएको पुष्टि गरेको हो ।

जनकपुर उपमहानपालिका–८ का ३८ वर्षीया महिलाको आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी उनको बिहान मृत्यु भएको हो ।

यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको आज कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का ७२ वर्षीय पुरुषको हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ दिनअघि ज्वरो आएर स्वाब संकलन गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनी थाइराइड, मधुमेह तथा मुटुरोगी थिए ।

बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी साउन २६ गते अस्पताल भर्ना भएका उनमा आजै कोरोना पुष्टि भएको थियो । उनी मिर्गौला तथा दमका रोगी थिए ।

यसैबीच कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–५ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । दम र मधुमेह रोगले पीडित ती पुरुषमा संक्रमण पुष्टि भएपछि चार दिनअघि उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

वीरगञ्ज–१६ नगवाको सामुदायिक प्रहरी चौकी नजिकै मृत अवस्थामा भेटिएका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताउनुभयो ।

यसैबीच, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका २५ वर्षीय पुरुषको पनि ज्यान गएको छ । लक्षण देखिएर अस्पतालमा भर्ना भएका उनको पीसीआर परीक्षणको रिर्पोट भने आउन बाँकी रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ