एजेन्सी, श्रावण २७ । सरकार विरोधी प्रदर्शन चर्किन थालेपछि लेबननको सरकारले राजीनामा दिएको छ । बेरुतमा विष्फोट भएको केही दिन पछि यसको कारणको माग गर्दै हजारौ नागरिक प्रदर्शनमा उत्रिए पछि सरकार राजीनामा दिन बाध्य भएको हो । प्रधानमन्त्री हसन दियाब सहितले राजीनामा दिए लगत्तै राष्ट्रपतिले सरकारको राजीनामा स्वीकृत गरेका छन् ।
अब नयाँ सरकार गठन हुने छ ।
गत मंगलबार भएको बिष्फोटको घटनालाई लिएर सरकार विरोधी प्रदर्शन चर्किएको छ ।
यसैबीच बेरुत विष्फोटका कारण आर्थिक संकटमा परेको लेबननलाई ३० करोड युरो सहयोग गर्ने विश्व समुदायले प्रतिबद्धता जनाएका छन् ।
फ्रान्सको अगुवाइमा भएको भर्चुअल सम्मेलनमा तत्काल मानविय सहायतामा सो रकम खर्च गर्ने सहमती भएको हो । अन्तर्राष्ट्रिय सहयोगका लागी संयुक्त राष्ट्रसंघले समन्वय गर्नेछ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लेबननलाई पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यद्यपि सहयोग रकम भने खुलेको छैन ।
गत मंगलबार भएको विष्फोटमा परि लेबननमा २ सय बढी मानिसले ज्यान गुमाएका छन् । बिष्फोटमा परी २ लाख ५० हजार मानिस घरबार विहिन भएका छन् भने ब्यापार ब्यवसाय ध्वस्त भएको छ । खाद्यान्नको आपूर्ति प्रणाली अवरुद्ध बनेको छ ।