कन्चनपुर, २६ साउन ।
बोक्सी आरोपमा आफ्नै छिमेकिको हत्या गर्ने चार जना अभियुक्तलाई सोमबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकार खाती दम्पतीकै छिमेकी स्थानीय ५३ बर्षीय प्रकाश ऐर, ३५ बर्षीय दिनेश राना, बेलौरी नगरपालिका–६ हात्तीबोझाका २६ बर्षीय होरी राना र कृष्णपुर नगरपालि–२ बाणीका ४५ बर्षीय रबि राना (भर्रा) लाई सार्वजिनक गरेको हो ।
घटना छिमेकी प्रकाश ऐरको योजनामा घटाइएको प्रहरीले जनाएको छ । ऐरले १४/१५ बर्षदेखि घनश्याम खातीलाई बोक्सीको आरोप लगाउँदै खाती दम्पत्तीको हत्या गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार ऐरले नै हत्याको योजना बनाएर दम्पतीको हत्यापछि रु चार लाख रकम समेत दिएको खुलेको छ । अभियुक्त ऐरको योजनालाई मुख्य रुपमा भर्रा भनेर चिनिने रबि रानाले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घटनामा अभियुक्त रबि रानाले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने, स्थानीय दिनेश र होरी राना घटनाका बेला खातीका छोरा राजेश खातीलाई घर बाहिर मादक पदार्थ सेवन गराएर फकाउने भूमिकामा देखिएको प्रहरीले जनाएको छ । “परिवारका सदस्यहरु बिरामी पर्न थालेपछि छिमेकी ऐरले खाती दम्पत्ती बोक्सी भएको भन्दै हत्या योजना बनाएको देखिन्छ ।” प्रवक्ता थापाले भने–“घटना घटाइसकेपछि अर्को अभियुक्त दिनेश रानाले खातीका छोरा राजेशलाई राति घरसम्म मोटरसाइकलमा र्पुयाएका थिए ।”
प्रहरीका अनुसार अभियुक्तहरुले छोरा राजेशलाई नै हत्यारा सावित गराउने प्रयासले नै राति मोटरसाइकलमा घरसम्म र्पुयाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
गत साउन १७ गते मध्यरातमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षिय बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै हत्या गरिएको थियो । भने सोही आक्रमणका क्रममा बेलीदेवीका श्रीमान ७० बर्षीय घनश्याम खाती गम्भीर घाइते भएका थिए ।
घाइते खातीको गैराती कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । खातीको घरमा पुगेर दम्पतीमाथि आक्रमण गर्ने अभियुक्त रबि रानालाई प्रहरीले आइतबार कृष्णपुर नगरपालिकाको गुलरिया क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । रबिको घरबाट हत्या गरेबाफत ऐरबाट लिएको रु डेढ लाख नगद समेत प्रहरीले बरामद गरेको छ ।