साउन २४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्य प्रमाणका आधारमा भगवान रामको जन्म नेपालकै अयोध्यापुरी भएकाले त्यहाँ राम मन्दिर निर्माण अघि बढाउने बताउदै यस पटक राम नवमीका दिन भव्य रुपले मनाउने जानकारी दिएका छन् । सो दिन बिशेष जात्रा गर्ने उनले बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह समेत गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिईन् ।
उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने आस्वासन पनि प्रधानमन्त्रीले दिए ।
माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेका थिए ।
स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिलाएका थिए ।
गत भानु जयन्तीका दिन प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक रुपले समेत अतिक्रमणमा परेको भन्दै राम नेपालमै जन्मिएको बताएका थिए ।