साउन २३काठमाडौं । निरन्तर कोरोनाको जोखिम त बढीरहेकै छ । त्यसमा पनि संक्रमितहरु झनै भाग्न थाले पछि थप खतरा बढेको छ ।
पछिल्लो साता संक्रमण पुष्टी भएका मध्य लगातार सम्पर्क बिहीन भए पछि संक्रमण फैलने थप खतरा बढेको हो । बुधबार कोरोना पुष्टी भए पछि सम्पर्क बिहीन भएका १६ मध्य ८ जना भने सम्पर्कमा आएका छन् तर अन्य ८ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको बताएको छ ।
संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीको संयन्त्र समेत परिचालन गरिएको छ ।
संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने देखिएको छ ।
चिकित्सकहरुले कोरोना संक्रमित आफै भाग्ने भन्दा पनि सचेत र अनुशासित हुनु पर्ने भन्दै यसो नभए थप जोखिम बढ्ने बताएका छन् ।
सरकारले स्वाब कलेक्सन गरे पछि रिपोर्ट नआउदा सम्म क्वारेन्टाईनमै बस्न आग्रह गरीरहेको छ ।
आखिर संक्रमित किन भाग्दैछन् त ? भन्ने एकीन नभए पनि कोरोना लागेको भने पछि समाजले हेर्ने दृष्टिकोण फरक हुन सक्ने, खासै लक्षण नदेखिएकाले वा विभिन्न कारणले भाग्ने गरेको हुन सक्ने देखिन्छ । तर संक्रमित भाग्नु भनेको जोखिम अत्यन्त बढ्नु हो अधिकारीहरु भन्छन् ।
यस अघि पनि आईसोलेसन र क्वारेन्टाईनबाट संक्रमितहरु बेला बेला भाग्ने गरेका थिए ।
लकडाउन खुले पछि मात्रै हालसम्म ३ हजार ९ सय ५ जना संक्रमित थपिएका छन् । संक्रमणको उच्च दरमा बीरगञ्ज, काठमाण्डौं लगायतका क्षेत्र परेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ ।
हालसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ६७ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालमा संक्रमितमा कोरोनाको स्पष्ट लक्षण देखिरहेको छ । जसले मृत्युदर समेत बढाउन सक्छ । कोभिड अस्पतालहरुमा आईसोलेसन, भेन्टिलेटर र आईसियुको समेत अभाव हुन सक्ने खतरा बढेको छ ।
देशभर अझ प्रभावकारी स्तरमा कोरोना नियन्त्रण र उपचारको व्यवस्था नभए थप जोखिम बढ्ने चेतावनी विज्ञहरुले दिदै आएका छन् ।