साउन २१ काठमाण्डौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीले आफूहरुलाई दलाल करार गर्न खोजेको र नेताहरुलाई विभाजन गर्न खोजेको बताएका छन् ।
प्रचण्ड नेपाल समुहले राजधानीमा बुधबार गरेको एक कार्यक्रममा प्रचण्डले पार्टी भित्रको बहस र अन्तरसंघर्ष पदको छिनाझम्टी नभएको पनि स्पष्ट पारे ।
कार्यक्रममा प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालनिकट पत्रकार र नेकपाको विट हेर्ने पत्रकारहरुलाई निम्त्याईएको थियो ।
देशी विदेशी प्रतिकृयावादीले पार्टी विभाजित होस् भन्ने चाहेको प्रचण्डको दाबी थियो ।
पार्टी एकतालाई सुदृढीकरण गर्न स्थायी कमिटीको बैठक चलिरहँदा अध्यक्ष केपी ओलीले एमाले दर्ता गर्न खोजेको र त्यसले पनि उनले विभाजन चाहेको पुष्टि हुने प्रचण्डको तर्क थियो।
प्रधानमन्त्री स्वंयले पहल गरेर एमाले दर्ता गर्न निर्वाचन आयोगमा जानु पार्टी एकताको पक्षमा भएको हुन्छ त ? प्रचण्डले प्रश्न गरे ।
बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली नवउदारवाद, बुर्जुवा पुँजीवादतिरै ढल्किएको गंभीर आरोप लगाउदै तीन वटा बजेट ल्याउदा समेत समाजवादतिर जाने कार्यक्रम नल्याएको प्रति असन्तुष्टी व्यक्त गरे ।
ओलीले स्थायी समिति सदस्यहरुलाई हुल्लडबाज र केन्द्रीय सदस्यहरुलाई सडकछापको संज्ञा दिएको भन्दै आक्रोस पोखे ।
प्रधानमन्त्री ओलीले भ्रष्ट, दुर्गन्धित मानिसहरूलाई नियुक्ति दिन थालेको भन्दै खनालले असन्तुष्टी पोखे ।
कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले पार्टी निर्णयमा चित्त नबुझेमा अध्यक्षले समेत नोट अफ डिसेन्ट लेख्न सक्ने बताए।
अहिले पार्टीको बैठक नबसेर समस्या आएको भन्दै नेपालले बैठकबाट डराउने नेताको काम नहुने जिकिर गरे ।
आफ्नै कमिटीका मान्छेहरूले मान्दैनन् भने जबरजस्ती गर्न मिल्दैन। पार्टीको बैठक नियमित बस्नुपर्छ। पार्टी कागजमा सीमित भएको छ, सरकारको काममा पार्टीसगँ सल्लाह गरिएको छैन, नेपालले असन्तुष्टी जनाए ।
आफ्नो गल्ती लुकाउन अरुलाई हिलो छ्यापेर प्रधानमन्त्रीलाई पार्टीलाई नोक्सान पुर्याएको नेपालको तर्क थियो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको विवाद बिचारको भएको बताए ।
पार्टी भित्रको बहसलाई पदसगँ मात्र जोडेर हेर्न नहुने बरु यो पार्टीलाई, देशलाई कसरी चलाउने भन्ने बहस हा्, नेता श्रेष्ठले भने ।