कैलालीमा पनि अनिश्चितकालीन लकडाउन,कुनकुन जिल्लामा छ निषेधाज्ञा ?

कैलालीमा पनि अनिश्चितकालीन लकडाउन,कुनकुन जिल्लामा छ निषेधाज्ञा ?

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

कैलाली, २१ साउन । कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालिन लकडाउन शुरु गरिएको छ । गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित सात जनामा मङ्गलबार कोरोना पुष्टि भएपछि आज यहाँ गाउँपालिकाको अध्यक्षतामा बसेको कोभिड–१९ सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेकोे गाउँपालिकाका प्रवक्ता तथा वडा नं। ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।
उहाँले यदि कोराना सङ्क्रमित बढ्दै गएको खण्डमा पूरै गाउँपालिका सिलबन्दी गर्नुपर्ने स्थिति पनि आउन सक्ने बताउनुभयो । मङ्गलबार क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित भारतको पुना, मुम्बईबाट आएर बसेका अन्य चार व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको हो ।

“हामीमा पनि कोरोना सङ्क्रमण हुनसक्ने भन्ने लागिरहेको छ” प्रवक्ता चौधरीले भन्नुभयो, “जनप्रतिनिधिहरु क्वारेन्टिनको व्यवस्थापनका लागि त्यहाँ गइराख्ने, स्वास्थ्यकर्मीसँग भेटघाट भइराख्ने भएकाले जनप्रतिनिधि स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुको पीसीआर टेस्ट भइरहेको छ ।”
पर्सा, वीरगञ्ज, राजविराजलगायत ठाउँमा कोरोना सङ्क्रमण समुदायमै फैलिएर जुन भयावह स्थिति सिर्जना भएको छ सोही स्थिति यहाँ नआओस् भन्नका निम्ति पूर्व सचेतना अपनाइएको प्रवक्ता चौधरीको भनाइ छ । लकडाउनका बेला अत्यवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रहका निम्ति गाउँपालिकामा अहिले माइकिङ भइरहेको बताइएको छ ।

यसका साथै सामाजिक दूरी कायम गर्न, सबैलाई मास्क लगाउन, सरसफाइलगायतका क्रियाकलापमा ध्यान दिन पनि आग्रह गरिएको छ । वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि खोजी कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

यसैबीच,कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ। यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका-५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ