काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले सरकारलाई जनताले नै नटेरेको गुनासो गर्दै सरकार एक्लैले कोरोना नियन्त्रण गर्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव लिनेक्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने बताए ।
प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भने पनि नागरिकले नै बेवास्ता गरेको भन्दै असन्तुष्टि पोखे । तर उनकै पार्टीका नेता कार्यकर्ताहरुले समेत यस्तो भेला र प्रदर्शन गर्दै आएका थिए ।
सरकारको निर्देशनले मात्र नहुने जनतामा चेतना जगाउन जरुरी रहेको प्रधानमन्त्रीको भनाई छ ।
सञ्चारकर्मीहरुसँग ओलीले भन्नुभयो, ‘सरकारले भनेको नमानी हाम्रै साथिहरु कहिले स्थायी समिति बैठकको कुरा त कहिले केन्द्रीय समिति अनि केही महाधिवेशन गरौँ भन्छन् । यस्तो अवस्थामा भिडभाड गर्न नहुनेमा हामी आफैबाट भिडभाड भइरहेको छ । ’
उनले सञ्चार माध्यमले सरकारको बिरोध मात्र गरेको भन्दै गुनासो गर्दै कहिले लकडाउन किन भन्ने कहिले खोलेको किन भन्ने जता जे गरे पनि विरोध गर्ने अवसर मात्रै ठान्न नहुने बताए ।
हरेकलाई सामाजिक दुरी र मास्क लगाउन आव्हान गर्दै प्रधानमन्त्रीले कोरोना समुदायमा संक्रमणको स्तर हेरेर लकडाउन गर्ने नगर्ने निर्णय गर्ने पनि बताए ।
बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवाले हरेक नागरिकलाई मास्क लगाएर हिड्न कडाई गर्नु पर्ने सुझाव दिएका थिए ।
साथै उनले पुनः लकडाउन गर्ने नगर्ने समुदायमा संक्रमणको स्तर हेरेर गर्नु पर्ने सुझाव पनि दिएका थिए ।