विराटनगर, २० साउन । कोरोना भाइरसको संक्रमण आशंका गरिएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ । बेलकाबाट उपचारका लागि सोमबार राति विराटनगर पुर्याईएका न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले बताए ।
मोरङ बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिए पनि अस्पतालले पीसीआर परीक्षणको रिपोर्ट नभएको भन्दै भर्ना लिन नमानेको बताइएको छ ।
विराट पु¥याउँदा उनलाई १०४ डिग्री ज्वरो पनि थियो । त्यसपछि कोशी अस्पताल ल्याइएका उनको बिहान लगभग १ बजेतिर मृत्यु भएको डा.दासले बताए । न्यौपानेमा केही दिनअघि जण्डिसको समस्या देखिएको जानकारी परिवारका सदस्यले अस्पताललाई गराएका छन् ।
कोशीमा ल्याइएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गर्ने तयारी हुँदै गर्दा न्यौपानेको मृत्यु भएको उनले बताए । यसअघि जण्डिस देखिएको बताइए पनि पुरुषमा ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेका कारण कोरोनाको संक्रमण भएको हुन सक्ने आशंका गरिएको जानकारी उनले दिए । उनकाअनुुसार मृतक पुरुषको कुनै ‘ट्राभल हिस्ट्री’ भने देखिएको छैन ।
मृतकको स्वाबको पीसीआर परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै ती पुरुषमा कोरोना भए नभएको पुुष्टि हुने जानकारी दिए । पीसीआर परीक्षण रिपोर्ट आइसकेपछि सबै पक्षसँग समन्वय गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनले बताए ।
यसअघि सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।