साउन १९ भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निजी निवास बालकोट पुगेका छन् ।
त्याहाँ उनले विभिन्न व्यक्तिहरुसगँ भेटघाट समेत गरेका छन् ।
धर्मपत्नी राधिका शाक्यसहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गरेका थिए । आफ्नो सम्पत्ति ट्रष्टलाई दिने घोषणा गरिसकेका प्रधानमन्त्री ओलीको जीवनकालका बिभिन्न पक्ष समेटिएको विषय, तस्वीर, पुस्तक र महत्वपूर्ण दस्तावेजलाई पत्नी शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा व्यवस्थापन गरिएको छ ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताए ।
नेकपाका नेता एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको जिज्ञासामा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्र घर फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने सङ्केत दिनुभयो ।
प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र बस्नेतसँग भेटघाट गरेका थिए ।
जनताको विश्वासलाई कायमै राख्न पनि पार्टीका अर्का अध्यक्ष दाहालसंँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको नेकपाका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए ।
“जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीतेकरेला खुवाएर कुरा गर्नुपर्छ”, बालुवाटारमा आज अध्यक्ष दाहालसँग छलफल गरी आफ्नो घर बालकोट पुगेका प्रधानमन्त्रीले सुनाएका थिए ।
बालकोट निवासमा प्रधानमन्त्रीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोट भक्तपुरका प्रमुख र राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमुखलगायतको टोलीसंँग भक्तपुरको शान्ति सुरक्षाबारेमा जिज्ञासा राखेका थिए ।