साउन १८ बझाङ । बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बाउ समानको उमेरका ७७ बर्षे बृद्धलाई अमर्यादित गालीगलौज गर्दै हातपात गर्न खोजे पछि त्यसको चौतर्फी बिरोध भईरहेको छ ।
एउटा फलैचामा छाता बोकेर बसेका ती बृद्धलाई त मेरो बाउ हैनस्, म तेरो बाउ हुँ बुझिस् भन्दै अस्लील शब्द समेत प्रयोग गरी कुट्नलाई पटक पटक झम्टेको देखिन्छ । उनी सत्तारुढ नेकपाका जिल्ला कमिटि सदस्य समेत रहेका छन् ।
सोही गाउँपालिकाको नौरा गाउँका ७७ वर्षीय पिरु रोकायालाई गाली गलौज गर्दै हातपात गर्न खोजेको भिडियोमा देख्न सकिन्छ । त्यहाँ जम्मा भएका अन्य मानिसले अध्यक्षलाई रोक्न खोजेको देखिन्छ ।
यो घटना साउन ११ गते भए पछि भिडियो हिजो बेलुकाबाट भाईरल बनेको हो ।
तीन चार जना बृद्धाहरु बसेर गफ गरीरहेको ठाँउमा पुगेका अध्यक्ष मदिरा सेवन गरेर मातेको अवस्थामा रहेको पनि स्थानीयले बताएका छन् । उनले आफूलाई भोट नदिएको कुरा पनि त्याहाँ गरेका छन् ।
केही महिनाअघि आफ्नो गाउँ नौरामा गाउँ नै जोखिममा पार्ने गरी गाउँपालिकाले निर्माण गर्न लागेको सडकको आफूले विरोध गरेको र सोही रिसले अध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप बृद्ध रोकायाको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी बझाङले एक विज्ञप्ति जारी गरी यो भिडियो भाईरल भएको बिषयमा ध्यानाकर्षण भएको जनाउदै भदौ २ गते पार्टी सचिवालयको बैठक बसेर आवस्यक कार्बाही गर्ने जनाएको छ ।
अध्यक्ष कठायतले चित्त बुझ्दो जवाफ नदिए कार्बाही गर्ने जिल्ला पार्टी अध्यक्ष मीन बहादुर कुवर र सचिव दमन बहादुर भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले अध्यक्ष कठायतलाई सात दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।