काठमाडौं, साउन १७ । ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नारासहित आजबाट नेपालमा विश्व स्थनपान सप्ताह सुरु गरिएको छ ।
स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उदेश्यले आगामि २३ गतेसम्म विभिन्न कार्यक्रम गरी मुलुकका सातै प्रदेश तथा ७५३ स्थानीय तहमा नै सप्ताह मनाउन लागेको स्वास्थ्य सेवा विभाग अन्तरगतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण यस वर्ष विभिन्न सञ्चार माध्यमहरू मार्फत स्तनपानको महत्वका बारेमा सूचनाहरू सम्प्रेषण गर्ने, माईकिङ् गर्ने, सार्वजनिक स्थलहरूमा सूचनामूलक बोर्ड तथा ब्यानरहरू राख्ने, विभागीय मन्त्रीको नै उपस्थितीमा अस्पतालको अनुगमन लगायतका कार्यक्रमहरू गरिने विभागको पोषण शाखाका प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो ।
जसअन्तरगत आज पहिलोदिन सरकारी मिडियाबाट सन्देश प्रसारण, भोली र पर्सि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतको सहभागीतामा काठमाडौंको थापाथलीस्थित प्रसुती गृहलगायतका चार वटा अस्पतालको अनुगमन, साउन २० गते स्तनपानसम्कन्धि बहस र २१ र २२ गते बर्थिङ्ग सेन्टरमा स्थनपानको बारेमा अनुगमन गर्ने कार्यक्रम तय भएको पराजुलीले जानकारी दिनुभयो ।
स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म संसार भर विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ ।
यसैबीच, परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गरी नेपालमा ६६ प्रतिशत महिलालेमात्र पूर्ण स्तनपान गराउने गरेको भन्दै यो संख्या वर्षेनि घट्दै गएको पनि जानकारी दिएको छ । 
महाशाखाका पोषण शाखा प्रमुख पराजुलीले शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको र दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८९ प्रतिशत रहेको जानकारी दिनुभयो ।
यस्तै, उहाँले स्तनपान गराउनेमध्ये ८० प्रतिशत महिलाले एक वर्षसम्म स्तनपान गराउने गरेको पाइएको बताउनुभयो । १ प्रतिशत महिलाले भने कहिल्यै स्तनपान नगराउने गरेको पाइएको उहाँले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले सन् २०१७ मा काठमाडौं उपत्यकामा गरेको अध्ययनमा छ महिनादेखि दुई वर्षसम्मका ८७ प्रतिशत बालबालिकाले ‘जंक फुड’को प्रयोग गर्ने गरेको देखाएको थियो ।
अध्ययनले बढीजसो शल्यक्रिया गरेर जन्मिएका बालबालिकालाई ‘फर्मुला’ दूध खुवाउने गरेको देखाएको छ । पराजुलीले प्रत्येक आमा र उनका परिवारले प्याकेटको दुध विष हो भन्ने बुझ्न जरुरी रहेको पनि बताउनु भयो ।
उहनँले भन्नुभयो, प्याकेटको दुध शुद्ध विष हो त्यसैले बच्चालाई अमृत समान आमाको दुध खुवाउन छाडेर विष सेवन गराउनु उचित हुन्दैन । यो कुरा पढेलेखेका शिक्षित भनिएकाले नै बेवास्था गर्ने गरेको पाईयो । 
विश्वमा नै प्याकेटको दुध बच्चालाई खुवाउने संख्यामा बृद्धि हुँदै गएको छ । पछिल्लो विवरण अनुसार आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुको बिक्रिमा अत्यधिक वृद्धि भएको छ । सन् २०१४ मा रु ४५ खर्बको प्याकेट दुध खपत भएको थियो भने २०१९मा झण्डै ७२ खर्ब रुपैयाको खरिद भएको छ ।
यदि स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रुपमा विश्वभर
८ लाख २० हजार शिशुहरुको ज्यान जोगाउन सकिन्छ भने स्तनपान नगराउदाको वार्षिक अनुमानित खर्च रु ३ सय खर्ब रहेको छ ।
विश्वका ३५ मुलुकले स्तनपानदसम्बन्धी मान्यतालाई कानुनी रुप दिएका छन् । जसमध्येको नेपालले पनि स्तनपानको संरक्षण र सम्बर्धन र कृत्रिम दूधलाई नियमन गर्न बनेको ऐन आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तु (बिक्रि वितरण नियन्त्रण) ऐन, २०४९ कार्यान्वयनमा ल्याएको छ । नेपालले सन् २०३० सम्ममा स्तनपान गराउनेको संख्या ९० प्रतिशत पुर्याउने लक्ष लिएको छ ।
