साउन १४ काभ्रे । जता ततै स्थानीय तहमा आर्थिक वेतिथि, अनियमितता र भ्रष्टाचारका खबर आईरहेका बेला काभ्रेको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिले भने आफूले पाउने सेवा सुविधाको रकम समेत विकास निर्माणमा हालेर उदाहरणीय काम गरेका छन् ।
नगर प्रमुख टि.पी. शर्मा तिमल्सिना सहितका जनप्रतिनिधिले यस अघि एक महिनाको तलव भत्ता कोरोना कोषमा हालेका थिए ।
त्यसमा पनि अझ नगरप्रमुख तिमल्सिनाले व्यक्तिगत रुपमा एक लाख ५ हजार ५ सय ५५ रुपैया क्वारेन्टाईन निर्माणका लागि दिएका थिए । यो रकम भनेको नगरप्रमुखले पाउने तीन महिना बराबरको तलब हुन आउछ ।
यस पटक पनि जनप्रतिनिधिले विभिन्न नाममा पाउने सेवा सुविधा बापत आउने २० लाख रुपैया विकास निर्माणका लागि छुट्याएको नगरप्रमुख तिमल्सिनाले बताए ।
कृषि, रोजगारी, उत्पादन एवं अन्य जनमुखी कार्यक्रम सहित अघि बढेको नगरले यस बर्षको बजेटबाट सेवा सुविधा नै कटाएर विकास निर्माणमा हाल्ने भए पछि स्थानीयवासीको सकारात्मक प्रतिकृया रहेको छ ।