साउन १४ काठमाण्डौं । नेपालको नक्सा परिवर्तन सम्बन्धि सविधान सशोधनको प्रस्तावको बिपक्षमा पार्टी ह्वीप विपरीत संसोधन दर्ता गराए पछि पार्टीले सरीता गिरीलाई निष्कासन गरे पछि सो स्थानमा समाजवादी पार्टीको सांसद निर्वाचित भएकी लिला सिटौलाले आज शपथ लिएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा शपथ खुवाईएको हो । सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीकचिह्नअङ्कित लकेट प्रदान गरेका थिए ।
तत्कालीन जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको ठहर गर्दै पार्टीले उहाँलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य समावेशी समूहको क्रमसङ्ख्या २ मा रहनुभएका सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो । तत्कालीन नेकपा ९माले०को विद्यार्थी सङ्गठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गर्नुभएका सांसद सिटौला जसपाका संस्थापक सदस्य पनि हुनुहुन्छ । झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मनुभएका सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताईन् ।