साउन १४ कालिकोट । निरन्तरको अबिरल बर्षाका कारण गएराति पहिरो जाँदा कालिकोटको नरहरिनाथमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने दुई बालक बेपत्ता छन् ।
नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ४ जनाको शव भेटिएको छ ।
राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढाको शव निकालिएको ओलियाले जानकारी दिए । ७ वर्षीय बालक रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा बेपत्ता छन् । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।
देशभर बर्षा र बाढी तथा डुबानले जनधनको क्षति हुने क्रम रोकिएको छैन ।