काभ्रे साउन १० । जनतालाई लकडाउनका बेला फलामको मेसिनले समात्ने, यातना दिने गरेको सरकारले आफैले बनाएको नियम नमान्ने मन्त्री र सरकारी पार्टीका कार्यकर्तालाई के गर्ला ?
सरकारले लकडाउन हटाए पछि कोरोना जोखिम रहेको भन्दै २५ जना भन्दा बढी भेला हुन नपाउने नियम कायम राखेको छ । यसै कारण उद्योग वाणिज्य संघको निर्वाचन जस्ता थुप्रै कार्यक्रमहरु स्थागित भएका छन् ।
तर लकडाउनकै बेला समेत सडकमा प्रदर्शनमा उत्रिरहेका नेकपाका कार्यकर्तालाई काभ्रेमा ठूलो संख्यामा भेला पारेर यस्तो नियम बनाउने सरकारका मन्त्री नै भाषण गरेको देखिएको छ ।
नेकपा भित्र विवाद बढेका बेला मदन भण्डारी फाउन्डेसनका नाममा आयोजित कार्यक्रममा संयौको संख्यामा भेला भएका कार्यकर्तालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज संवोधन गरेका छन् ।
बनेपाको होटल उग्रचण्डीको हलमा आयोजित कार्यक्रममा पूर्वमन्त्री आनन्द पोखरेल, गोकुल बाँस्कोटा, संविधानसभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाईं, गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघ अध्यक्ष समेत रहेका धुलिखेल नगरप्रमुख अशोक व्याञ्जु लगायत पनौती, बनेपा, नमोबुद्ध नगरपालिकाका प्रमुख उपप्रमुख सहभागी थिए ।
हलमा निकै खचाखच भए पछि कार्यकर्ता बाहिर पनि थुप्रिएका थिए । यसमा प्रचण्ड र माधव पक्षका नेता कार्यकर्ता उपस्थित थिएनन् भने ओली पक्षका सबै भेला भएका थिए ।
सामान्य थर्मल गनले ज्वरो नापिए पनि सामाजिक दुरी जस्ता मापदण्ड पूरा भएका थिएनन् ।