साउन १०, रौतहट । भारतीय समुहबाट पटक पटक सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण हुने गरेको छ । यसैक्रममा नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएको सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको छ ।
परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल छिर्न नदिएको भन्दै भारतीयहरुको समुहले सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन आग्रह गरिएको तर उनीहरुले उल्टै प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेका थिए ।
पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन् । त्यसपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जानकारी दिएका छन् ।
भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए । सो क्रममा सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको छ ।
पछि प्रहरीले पनि जवाफि कार्वाहि गरेको थियो ।
झन्डै २ सयको हाराहारीमा जम्मा भएका भारतीयहरु आक्रामक शैलीमा प्रस्तुत भएर हतियारसमेत खोस्ने प्रयास गरेको एसपी कर्णजितले बताएका छन् ।
घटनामा संलग्न भारतीय नागरिक रवीन्द्रप्रसाद कुसवाहालाई सशस्त्रले नियन्त्रणमा लिई नेपाल प्रहरीको नरकटिया चौकीमा जिम्मा लगाएको थियो । लगत्तै राति ११ बजे नै नेपाल प्रहरीले रवीन्द्रलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ७१औं बटालियन ‘ए’ कम्पनीका इन्सपेक्टर अजयकुमारलाई जिम्मा लगाएको बताईएको छ ।