खोई निर्मलालाई न्याय ?

खोई निर्मलालाई न्याय ?

  • शनिबार, साउन १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

कन्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि बर्बरतापूर्ण हत्या भएको आज दुई बर्ष पूरा भएको छ । के सडक के सदन महिनौ सम्म निर्मलाको न्यायका लागि भनेर आवाज उठ्यो । सरकारले पटक पटक कतिलाई पक्राउ गर्यो, छानविन गर्यो तर वास्तविकता अझै पत्ता लगाउन सकेन ।
अब बिस्तारै निर्मलाको बलात्कारी तथा हत्यारा पत्ता लाग्ने र न्याय पाउने आशा समेत परिवारले मार्ने स्थिति आउन लाग्यो ।
कुनै पनि छानविन समिति र प्रहरी अनुसन्धानले दोषी पत्ता लगाउन सकेन र यो घटनाको योजनाकार, अपराधीहरु अझै उम्किरहन सफल भएका छन् ।
पटक पट छ्ट्टिै हत्यारा पत्ता लाग्ने भनिए पनि अहिले सम्म पत्ता लगाउन नसक्नु सरकारको ठूलो कमजोरी हो ।
प्रहरीले नै निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेको कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी छैन। एकमात्र आधार मानिएको निर्मलाको भेजिनल स्वाब पनि त्रुटिपूर्ण रहेको भनिएपछि दोषी पत्ता लगाउने ठोस प्रमाण खोज्न जटिल बन्दै गएको छ ।

सुरुमा मानसिक सन्तुलन गुमाएका दिलीप बिष्टलाई निर्दोष भन्दै आएकी दुर्गादेवीले पछि उनै दिलीप दोषी भन्दै गत भदौमा किटानी उजुरी दिएकी थिइन्। तर बलियो प्रमाण नभएकाले प्रहरीले मानसिक सन्तुलन गुमाएका भनिएका दिलीपलाई दोस्रोपटक पक्राउ गर्न सकेको छैन। यसअघि दिलीपलाई फसाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा गोली चलेर एक जनाको मृत्यु भएको थियो भने अन्य केही घाईते भएका थिए ।

यसरी बलात्कार पछि हत्या भएको थियो निर्मलाको

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा पुगिन् । उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर आलटाल गरेर प्रहरी राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान नजिकैको उखुबारीमा निर्मलाको शव फेला पर्यो। प्रहरीको पहिलो दिनकै व्यवहारबाट असन्तुष्ट स्थानीयले निर्मलाको शव फेला परेको साउन ११ गतेदेखि दोषीलाई पत्ता लगाउन माग गर्दै प्रदर्शन गरे। प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बुझेका आफन्तले निर्मलाको शव बुझ्न मानेनन्।

राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरे ।

साउन १३ गते सिआइबीका डिएसपी अंगुर जिसी अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९ का दिलीप बिष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गरियो। सार्वजनिक गर्नुअघि दिलीपको घरमा नास्पाती किन्ने निहुँमा गएका प्रहरीले दिलीपको कमिजको गोजी च्यातेर उखुबारीमा फालेका थिए। दिलीपको घरबाट ल्याएको कमिजको गोजीको टुक्रा खोज्न भन्दै निर्मलाका बुबालाई शव फेला परेको उखुबारीमा लगियो। उखुबारीमा कमिजको टुक्रा फेला प¥यो भन्दै प्रहरीले मुचुल्का बनायो। तर उक्त मुचुल्कामा निर्मलाका बुबा यज्ञराजले हस्ताक्षर गर्न मानेनन्।

निर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चलेको थियो। प्रहरीको गोलीले शनी खुनाको ज्यान गयो भने कयौ घाइते भए। निर्मलाको भेजिनल स्वाबमा फेला परेको शुक्रकीटको अवशेषको प्रोफाइलसँग डिएनए रिपोर्ट मेल नखाएपछि दिलीप रिहा भएका थिए।

भदौ ७ गते सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि गोली चलाएको उल्लेख गरियो। प्रहरीले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानबिन टोली गठन गरेको थियो।

उक्त टोलीको प्रतिवेदनअनुसार तत्कालीन प्रहरी उपरीक्षक दिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी लगायत ६ जना प्रहरीलाई निलम्बन गरिएको थियो। त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठजना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्। दिलीपका दाजु खड्क बिष्टले भाइलाई यातना दिएको भन्दै चारजना प्रहरीविरुद्ध उजुरी दिए। फौजदारी अपराध संहिताअनुसार प्रमाण नष्ट गरेको अभियोग लागेका आठजनालाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा रिहा ग¥यो। यातना दिएको अभियोग लागेका चारजना प्रहरी पनि धरौटीमै रिहा भए। पछि तत्कालीन आइजिपी सर्वेन्द्र खनालले एआइजी धीरु बस्न्यातको प्रतिवेदन खारेज गर्दै डिआइजी सुरज केसीको संयोजकत्वमा नयाँ छानबिन समिति गठन गरे।

दिलीप बिष्टपछि पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले पनि पत्यारिलो घटना विवरण प्रस्तुत गर्दै आफूले हत्या गरेको प्रहरीलाई बयान दिएको भनियो । पछि प्रदीप र विशालले पनि आफूहरुलाई प्रहरीले यातना दिएर घटना स्वीकार्न लगाएको बताएका थिए ।
न्यायका लागि निर्मलाका आमाबुवा तथा आफन्त र अरु विभिन्न पक्षले धर्ना, जुलुश, आन्दोलन गरे पनि उनले अझै न्याय पाउन सकेकि छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ