साउन ३ काठमाण्डौं । भारतमा लाखौँ नेपालीहरु रोजगारीका लागि गएका छन् र लाखौँ भारतीयहरु नेपालमा आएर रोजगारी गर्दछन् । नेपाल भारत सम्बन्धको जनस्तरको आधार पनि यही आउजाउ र बिहाबारी हो । अझ नेपालमा त केही समय बसे पछि थुप्रै भारतीयहरुले नागरिकता समेत लिईसकेको देखिन्छ ।
नेपाल र भारतबीच नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई भारतले सन् २०१९ मा नक्सामा र सन् २०२० मा बाटो नै खने पछि नेपालले आपत्ति जनायो । त्यस पछि नेपालले तीनै आफ्नो भुभाग समेटेको नक्सा जारी गरे पछि नेपाल भारत सम्बन्ध तनावपूर्ण छ ।
यही बीचमा केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको र सक्कली अयोध्या नेपालमा रहेको र भारतले बनाएको अयोध्या नक्कली भएको टिप्प्णी गरे पछि भारतमा हिन्दु अतिवादीहरुले त्याहाँ रहेर रोजगारी गर्ने नेपालीहरुमाथि ज्यादती गर्न थालेका छन् ।
उनीहरुले नेपालीलाई तिमीहरुले हाम्रो रोटी खाएका छौ, चीनको पछि लागेका छौ भनेर गाली गलौज गर्ने, दुरव्यवहार गर्ने, अपमान गर्ने गरेको पीडित नेपालीहरुको गुनासो छ ।
तर अतिवादी भारतीयहरुले बुझ्नु पर्दछ कि नेपालीहरुले भीख मागेर हैन श्रम बेचेर खाएका छन् । साथै यो पनि उनीहरुले बुझ्नु पर्दछ कि लाखौँ भारतीयहरुले नेपालबाट बर्षेनी खरबौं रुपैया नेपालबाट कमाएर लाने गरेका छन् । त्यसो भए के रोटी नेपालीले भारतको सित्तैमा खाएको हो ? के नुन तेल सित्तैमा भारतले दिन्छ ?
कतिपय अतिवादीले त नेपालीलाई नेपालतिरै खेद्ने समेत धम्की दिने गरेको गुनासो भारतमा रहने नेपालीहरुले गर्न थालेका छन् ।
यसैबीच पछिल्लो समय वनारसमा एक नेपालीमाथि जबरजस्ती कमाल मुण्डन गराएर टाउकोमा जयश्रीराम लेखेर नेपाल र नेपालका प्रधानमन्त्री बिरुद्ध मुर्दावाद भन्न लगाउने हिन्दु सेना नामका उत्श्रृखल समुहका तीन जनालाई पक्राउ गरेर कार्बाही प्रकृया अगाडी बढाएको भारतीय प्रहरीले बताएको छ । यस भिडियो बनाउने र जबरजस्ती यस्तो क्रियाकलाप गर्ने अरुको पनि पहिचान भएको प्रहरीले बताएको छ । भारतको महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, विहार, दिल्ली, पञ्जाव, हिमाञ्चल लगायतका राज्यमा थुप्रै नेपालीहरु काम गर्दै आएका छन् ।
त्यसो त भारतले कट्टर शत्रु मान्ने पाकिस्तान र चीन बिरुद्धको युद्धमा र ती देशहरुको सीमानामा नेपाली गोर्खा सैनिकको भरमा लड्दै आएको छ । कास्मीरदेखि लद्धाख सम्म दिन दिनै जसो नेपाली गोर्खा सेनाको ज्यान जाने गरेको छ । भारतीयहरुले बुझ्नु पर्दछ कि भारतको सार्वभौमिकताको रक्षामा नेपालीले रगत पशिना बगाईरहेका छन् । कोरोना पछि १० लाख हाराहारी नेपाली स्वदेश फर्किसकेका छन् ।
भारतमा रहेका नेपाली संघ संगठनद्धारा घटनाको बिरोध
सीमामा उत्पन्न दुबै देशको तनाव पछि , बोर्डरमा भारतीय तस्करहरु बिरुद्ध सुरक्षाफौजको अप्रेसनपछि भारतीय मिडिया र केही अतिवादीहरुले नेपालीको कपाल मुण्डन जस्ता आपराधीक गतिविधि गरेकोप्रति भारतमा रहेका नेपाली सम्बद्ध विभिन्न संघ संगठनले आपत्ति जनाएका छन् ।
यसै क्रममा प्रवासी नेपाली जनसमाज भारतले एक विज्ञप्ति जारी गरी वनारसमा नेपालीमाथि गरिएको ज्यादतीको भत्र्सना गरेको छ ।
दोषीमाथि कडा कार्बाहीको माग गर्दै यस्ता घटनाले दुबै देशका जनतालाई नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसै गरी सयुँक्त भारतीय नेपाली एकता समाज भारतले पनि एक विज्ञप्ति जारी गरी एक नेपालीमाथि राक्षसी र बर्बरतापूर्ण व्यवहारको भत्र्सना गरेका छन् ।
समाजका अध्यक्ष विन्द बम (बसन्त )ले यस्तो व्यवहार गर्ने हिन्दु सेना नामका अतिवादीलाई कडा कार्बाही गर्न माग गर्दै नेपालसगँ माफी माग्न लगाउन माग गरेका छन् ।
यस्तो गतिविधि गर्नेहरु नेपाल भारतबीच फाटो ल्यान चाहने गिरोह भएको समाजको आरोप छ ।
यसै गरी प्रवासी नेपाली एकता मञ्चका पदाधीकारीहरुले पनि क्रमशः भारतमा रोजगारी गरीरहेका नेपालीहरुलाई समस्या पर्न थालेको भन्दै नेपाल सरकारले बिशेष ध्यान दिन माग गरेका छन् ।
एकता मञ्च भारत मध्य प्रदेश राज्य समितिको कोषाध्यक्ष लाल सिंह सोनीले नेपालीहरुमाथि विभिन्न समस्या उत्पन्न हुन थालेको भन्दै ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
यसै गरी सोही संगठनका अध्यक्ष ओमलाल खनाल र सचिव कृष्ण प्रसाद पाण्डेले पनि भारतमा नेपालीमाथि कपाल मुण्डन गर्ने कार्य अत्यन्त गलत भएको बताएका छन् ।