३० असार, काठमाडौं । मेलम्ची सुरुङमा पानी हालेर परीक्षण सुरु गरेकाे १० दिनमा अम्बाथानस्थित फ्लसिङ गेट एक्कासी फुटेर दुई जना बेपत्ता छन् भने अन्य २ जनाको घाइते अवस्थामा उपचार भइरहेकेा छ ।
मंगलबार दिउँसो परीक्षणका क्रममा रहेको सुरुङको फ्लसिङ गेटमा पानी चुहावटको दर निरीक्षण गर्न गएका ४ जनालाई गेट फुटेर आएको पानीले बगाएको थियो । याे सँगै मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । पानी परिक्षणका क्रममा गेटबाट पानी चुहावट भइरहेकेा थियाे ।
सरकारले २१ असारदेखि मेलम्ची सुरुङमा पानी हालेर परीक्षण सुरु गरिएकाे थियाे । तर पानी चुहावट भएर बाहिर निस्किएपछि मंगलवार पनि पानी चुहावटकाे मात्रा परिक्षणका लागि मुख्य सुरूङमा इन्जिनियरकाे टाेली छिरेकाे बेला गेटकाे नट खुलेर दुर्घटना भएकाे आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
चिनियाँ कम्पनीकातर्फबाट गेटको निरीक्षणमा गएका एकजना इन्जिनियर २५ वर्षीय इन्जिनियर सतिश गोइत र आयोजनाका सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर मेलम्चीमा बेपत्ता भएका हुन् । परमर्शदाता साइट इन्जिनियर शेखर खनाल र मेलम्ची खानेपानी बोर्डका साइट एसिस्टेन्ट इन्जिनियर प्रेमबहादुर तामाङ घाइते छन् ।
पन्तका अनुसार अनुसार विहानको खाना खाएपछि उनीहरु सुरुङमा पानी चुहावटको अवस्था अध्ययन गर्न अम्बाथानको अडिट टनेल अर्थात मुख्य सुरुङमा जान बनाइएको सुरुङ हुँदै फ्लसिङ गेटमा पुगेका थिए ।सुरुङमा पानीको चाप अत्यधिक भएर गेटको मेकानिकल नटहरु फुस्किएको थियो । साेहिबेला सुरुङभित्र पानीको चापले गेट नै खाेलिएपछि उनीहरुलाई पानीको बेगले मेलम्ची खोलामा ल्याएर खसालेको थियो ।
मिर्मिरे अनलाइनसँग कुरा गर्दै पन्तले भने, ‘पानी यसअघिबाट नै चुहावट भएकाे थियाे, पानीकाे चुहावटकाे मात्रा हेर्न चार जना सुरूङ छिरेका थिए । साेहिबेला गेटकाे नट खुलुर दुर्ङटना भएकाे हाे ।’ अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर दरले पानी सुरुङमा छाडिएकाे थियाे ।
हाल अम्बाथानबाट ग्याल्थुमतर्फको सुरुङ भरिने क्रममा थियो । करिब २७ किलोमिटरको सुरुङ नभरिँदै समस्या भएपछि पुनः खाली गर्न लागिएको छ । आयोजनाले सुरुङ भरिन १५ देखि २० दिन लाग्ने बताएको थियो ।तर सुरुङभित्र पानीको चाप बढ्दै जाँदा अहिले जडित गेटहरु त्यसको चाप थेग्न नसक्ने अवस्थामा रहेको पुष्टि भएको छ ।
गेट नै कमसल बनाइएकाे थियाे कि भन्ने प्रश्नमा प्रवक्ता पन्तले त्याे विषय अनुसन्धानपछि मात्रै पुष्टिहुने तर पानी चुहावट भने भएकाे बताए ।अहिलेसम्म गेटकाे नट खुस्किएकाले दुर्घटना भएकाे उनले प्रष्ट्याए । उता आयोजनाका प्राविधिकहरुले भने नट कस्ने काममा त्रुटि भएको हुनसक्ने अनुमान पनि गरेका छन् ।
यसअघिको तालिकाअनुसार सुरुङ भरिएपछि त्यतिकै दिन लगाएर खाली गर्ने र भित्र निरीक्षण र परीक्षणको काम गर्ने योजना थियो । परीक्षण सकेर सुरुङमार्फत आउने पानीलाई सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाउने योजना छ ।
आयोजनाको स्थायी बाँध र बालुवा थिग्राउने संरचना (हेडवर्क्स) बनाएर मात्रै सुरुङमा पानी हालेर परिक्षण गर्नुपर्ने भएपनि समय लाग्ने भएपछि नदीमा अस्थायी बाँध र डाइभर्सन बनाएर निर्माणाधीन हेडवर्क्स छल्ने गरी मूल सुरुङमा पानी हालिँदै आएका थियो । चिनियाँ कम्पनी सिनोले हेडवर्क्स २०७७ पुससम्म बनाउने गरी काम गरिरहेको छ ।
बाध फुटेपछि पानी परिक्षणकाे काम पनि राेकिएकाे छ । अब सुरुङलाई खाली गरेर गेटहरुको अवस्था निरीक्षण गरेपछि मात्रै पुनः पानी हालिने प्रवक्ता पन्तले बताए ।