बेंसीसहर, ३० असार । केही दिनदेखि परेकेा भिषण वर्षाका कारण बाढी-पहिरो आउँदा लमजुङमा डेढ सय घरपरिवार विस्थापित भएका छन् । सबैभन्दा बढी प्रभावित मध्यनेपाल नगरपालिकाभित्र मात्र एक सय ९ घर परिवार विस्थापित भएका छन् ।
उनीहरुलाई मध्यनेपाल-६ भोर्लेटारको इशानेश्वर माध्यामिक विद्यालयमा राखिएको जनाइएकाे छ । बाढीपहिरो जोखिममा परेका बेसीसहर नगरपालिका, मस्र्याङदी, दोर्दी र क्होलासोँथार गाउँपालिकाका ३७ घरका १ सय ७५ जनालाई पनि सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज शर्माले बताए । शर्माका अनुसार दोर्दी गाउँपालिकाका १८ घर, मस्र्याङदी गाउँपालिकाका पाँच घर, क्ब्होलासोँथर गाउँपालिकामा ६ घर र बेसीशहर नगरपालिकाको चार घर स्थानान्तरण भएका हुन् ।
उता, पहिरोको कारण पाल्पाका अधिकांश सडक अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक पहिरोले दुई दिनदेखि अवरुद्ध भएको छ । सोमबार दिउँसोदेखि सिद्धार्थ राजमार्गको दोभान प्रहरी चौकी नजिक खसेको पहिरोका कारण अवरुद्ध भएको तानसेन बुटवल सडक अझै सुचारु हुन सकेको छैन ।
मंगलबार बिहान मात्र तानसेन बुटवल सडकखण्डको कालीमाटी क्षेत्रमा ठूलो पहिरो खसेको छ ।