पर्साको श्री राधाकृष्ण भगवान कट्टी मठको जग्गामा अध्यक्ष शाहको रँजाई , किन हुदैन खोजी ? 

पर्साको श्री राधाकृष्ण भगवान कट्टी मठको जग्गामा अध्यक्ष शाहको रँजाई , किन हुदैन खोजी ? 

  • मङ्लबार, असार ३०, २०७७
  • -दिपक चौरसिया

  • 10.3K
    SHARES

असार ३० बीरगञ्ज । देशका विभिन्न भागमा मठ मन्दिरका नाममा रहेका जग्गा जमिन माफियाहरुले खाएको कुरा नेपालमा नौलो होईन । तर पनि माफियाहरु माथि कहिल्यै प्रभावकारी कार्बाही हुन सकेको छैन ।
यस्तै पीडामा पर्ने खतरा बोकेको छ पर्साको पकहामैनपुर गाउँपालिका वडा नं. २ स्थित एतिहासिक श्री राधाकृष्ण भगवान कट्टी मठले । दुई सय बर्षको ईतिहास बोकेको यो मठका बहुमुल्य सामान हराएको छ जसको प्रभावकारी खोजी अझै भएको छैन भने यसको स्वामित्वमा रहेको जग्गामाथि पनि गिद्धे दृष्टि पर्दै गएको छ ।
विगत २ सय वर्ष लामो इतिहास बोकेको यस मन्दिर संरक्षणका लागि गठित मन्दिर संचालक समिति स्थापना भएदेखि दिन प्रतिनिधि मन्दिरका बहुमुल्य सामानहरु हराउँनुका साथै मठको नाममा रहेको जग्गाहरु अतिक्रमणको सिकार हुँदै गएको स्थानीयहरुले आरोप लगाएका छन् ।
विं.सं १९१३ सालदेखि विधिवत रुपमा स्थापित उक्त मठमा रहेको भगवान राधा कृष्णको मुर्तिमा रहेको चाँदीको मुकुट, बाँसुली, चंगी तथा बहुमूल्य शालिकग्राम पत्थरहरु हराएको छ । त्यसैगरि मठको नाममा रहेको ८५ विगहा जग्गा पनि अतिक्रमणको सिकार बनेको छ । साविक सुर्जाहाकट्टी स्थित रहेको उक्त मठको जग्गा त्यस आसपास क्षेत्रका विभिन्न गाउँमा रहेको छ । ८५ विगहा जग्गा अहिले खुम्चिएर अतिक्रमणको सिकार भई ६५ विगहामा पुगेको छ । त्यो पनि ६५ विगहा जग्गामा संचालक समिति भित्रैबाट अध्यक्षको  गिद्धेनवर लागेको गुनासो त्यस क्षेत्रका मानिसहरुको छ ।
विभिन्न दाताले मन्दिरको नाममा दिएको जग्गाको मूल्य अहिले करोडौं भएपछि संचालक समितिको गिद्धे नजर परेको छ । मन्दिर संरक्षण गर्नका लागि गुठी संस्थानको पहलमा २०५७ सालदेखि स्थानीय दिनानाथ साहको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन भएको थियो । त्यो बेलादेखि हालसम्म लगभग २ दशकसम्म साहले मन्दिरको जग्गामा एकलौटी मोजमस्ती गरि रहेको गुनासो आउन थालेको छ ।  मन्दिरको नाममा रहेको जग्गामा निजी खेतीपाती गर्नुको साथै केही जग्गामा आफ्नो मनमौजी तरिकाले टेण्डर आह्वान गरि आफ्नै आसेपासेका व्यक्तिहरुलाई ठेक्कामा दिई त्यस वापतको रकम लिई कुनै हिसाब किताब नगरेको स्थानीयहरुको आरोप छ ।
ठेक्कामा दिइएको पोखरीको कुनै हिसाब किताब छैन । ठेक्केदारले ठेक्का बापतको रकम संचालक समितिका अध्यक्ष दिनानाथ साहलाई दिने गरेका छन् तर त्यो पैसाको कुनै अत्तो पत्तो छैन । त्यसैगरि गाउँका विभिन्न किसानहरुले प्रति कठ्ठा ६० केजीको हिसाबले संचालक समितिका अध्यक्षलाई धान दिने गरेका छन् तर त्यो धान मठमा नगई संचालक समितिको घरमा पुग्ने गरेको स्थानीयहरुको भनाई छ । मन्दिरको जग्गामा करिब २ लाख मूल्य बराबरको सिसौको रुख रहेको अवस्थामा अध्यक्ष साहले त्यसलाई ढाली मन्दिर निर्माणका सामाग्रीहरु बनाएका छन् र त्यही निर्माणका लागि गुठी सँस्थानबाट १५ लाख रुपैया बजेट पनि निकाशा गराएका छन् । त्यो पनि अधिुरै छ, तीन वर्ष वितिसक्यो अलपत्र अवस्थामा छ । मन्दिर मर्मत सम्भारको लागि पनि गुठी सँस्थानबाट पैसा निकाशा गरिएको छ तर त्यो पनि हुन सकेको छैन, दुई वर्षदेखि मन्दिरमा बाँस लगाएर त्यसरी नै छाडिएको छ ।
उनीहरुका अनुसार मन्दिर संरक्षणको नाममा संचालक समिति गठन भएदेखि नै मन्दिरको असितत्व नै समाप्त हुँदै गएको आरोप लगाए । मन्दिर संचालक समिति परिवर्तनका लागि विगत ५ वर्षदेखि जिल्ला अदालतमा मुद्दा चलि रहेको छ तर अध्यक्ष साहले स्थानीयहरुलाई विभिन्न मुद्दा मामिलामा अल्झाई गुठी सँस्थानबाट आफ्नो कार्यकाल थप गराई अध्यक्ष पदमै बस्दै आएका छन् । गुठी सँस्थानसँग पनि यसको चित्त बुझ्दो जवाफ छैन । कुनै किसिमको हिसाब नगरिकनै अध्यक्ष साहको कार्यकाल गुठी सँस्थानले पटक पटक थप गरेको छ ।
गुठी सँस्थानकै अनुसार उक्त समितिले हिसाब फर्छयौट गरेको तीन वर्ष वितिसक्यो, अहिले मुद्दा चलि रहेको कारण रोक्का गरिएको बताइएको छ ।
प्रत्येक दुई वर्षमा संचालक समितिका व्यक्तिहरु परिर्वतन भई हिसाब फर्छयौट गर्नुपर्ने हो, तर हिसाबको त कुरै छाडौं संचालक समिति पनि परिवर्तन हुन सकेको छैन । मन्दिरको जग्गाको हिसाब खोज्दा अध्यक्ष साहले विभिन्न ठेकेदार मार्फत विभिन्न बहानामा स्थानीयहरुमाथि मुद्दा दिन लगाई अल्झाई आफ्नो कार्यकाल लम्बयाउने गरेको बताए । अध्यक्ष साहले आफ्नो मनोमानी रुपमा मन्दिरमा ३ जना पुजारी राखेका छन् । एक जनालाई मासिक १५ हजार र दुई जनालाई मासिक ८ हजारको हिसाबले तलब दिने गरेका छन् जबकी आजसम्म त्यहाँ बस्ने पुजारीलाई तलबको नाममा एक पैसा दिइएको छैन । मठको नाममा रहेको जग्गाबाट ५ कठ्ठा जग्गा पुजारीलाई जोतभोग गर्न दिने गरिएको छ ।
यस्ता यस्ता विभिन्न क्रियाकलापहरु गर्दै अध्यक्ष साहले मन्दिरको सम्पत्तिलाई सखाप पार्ने चलखेलमा लागेको उनीहरुको अरोप छ । तर यि सब विषयमा संचालक समिति अध्यक्षको भनाई बेग्लै छ । संचालक समितिका अध्यक्ष दिनानाथ साहका अनुसार मन्दिरको नाममा ८५ विगहा जग्गा नभई ६५ विगहा रहेको जग्गामध्ये करिब २० विगहा जग्गा ठेक्कामा लगाइएको, केही जग्गामा २ वटा पोखरी, केही जग्गामा मोही कायम भएको र बाँकी केही जग्गा पर्ति रहेको बताए । ठेक्का वापतको रकम समितिको खातामा सुरक्षित रहेको छ तर दुई तीन वर्षदेखि हिसाब किताब फर्छयौट नगरिएको स्वीकारे ।
मन्दिरको बहुमुल्य सामान हराएको भन्ने विषयमा आफूलाई केही जानकारी नभएको भन्दै अध्यक्ष साहले मैले हेरेदेखि मुर्तिमा कुनै किसिमको चाँदीको मुकुट, बाँसुली लगायतका बहुमूल्य सामान नरहेको बताए । जुन अवस्थामा मन्दिर थियो त्यो अवस्थामा अहिलेपनि रहेको भन्दै मन्दिर विकासमा स्थानीयहरु नै बाधक रहेको बताए । मन्दिर विकास गर्न जाँदा स्थानीयहरुले सधैं अवरोध गर्ने गरेका छन्, विना कारण अदालतमा मुद्दा हालेर स्थानीयहरु विकासको बाधक बन्ने गरेको बताए । अहिलेपनि मुद्दा चलि रहेको छ, त्यसैमा अल्झिएर केही गर्न सकिएको छैन, मन्दिर मर्मतका लागि ल्याइएको सामानहरु त्यही थन्केर खराब भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ