असार २८ चितवन । नक्कली नाता प्रमाण पत्र बनाएर अवैध रुपले मृगौला प्रत्यारोपण गराएको आरोपमा चितवनबाट वडाअध्यक्ष, चिकित्सक सहितलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला प्रत्यारोपण गरिएको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सक तथा कानुनी सल्लाहकारलगायतलाई पक्राउ गरेको हो ।
ब्युरोको टोलीले डा राकेशकुमार बर्मा, डा सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती तथा अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्लेलाई पक्राउ गरिएको छ । त्यस्तै, ललितपुर महानगरपालिका– ३ का वडाध्यक्ष गोपाल महर्जन र जिल्ला प्रशासन कार्यालय, चितवनका अधिकृत रामचन्द्र ढकाल पनि पक्राउ परेका छन् । साथै मिर्गौला खरिद–बिक्रीमा संलग्न गिरोहका व्यक्तिहरूसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
केही महिनाअघि ललितपुरका एक व्यक्तिको कलेज अफ मेडिकल साइन्सेसमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । भोजपुरका एक व्यक्तिले मिर्गौला दिएका थिए । नजिकको नातेदारले मात्रै मिर्गौला दिन पाउने भए पनि उनलाई नातेदार भएको नक्कली कागजपत्र बनाएर प्रत्यारोपण गरिएको प्रहरीको भनाइ छ । यसमा अस्पतालको मिलेमतो रहेको प्रहरीको दाबी छ ।
त्यस्तै, वडाध्यक्ष महर्जनले नाता नै नपर्ने व्यक्तिलाई नाता प्रमाणित गरेको र अधिकृत ढकालले मिर्गौला प्रत्यारोपणमा कागजपत्र र मान्छे प्रमाणित गर्दा अनियमितता गरेको प्रहरी आरोप छ ।
स्रोतका अनुसार सुरुवातमा यसबापत मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिले २५ लाख रुपैयाँ खर्च गरेका थिए । त्यसमध्ये १० लाख मिर्गौला दिने व्यक्तिलाई दिइने बताइए पनि उनले दुई लाख रुपैयाँ मात्र पाएका थिए । त्यसपछि पीडित व्यक्तिले प्रहरीमा उजुरी गरेका थिए । त्यस पछि घटनाको खुलासा भएको हो ।