असार २८ सप्तरी । पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाले उर्लिएको भेलले सप्तकोशीमा पानीको बहाब उच्च बनेको छ ।
यसले सप्तकोशीको पश्चिीमी भाग सप्तरीतर्फको तटबन्ध भत्काउने खतरा बढे पछि स्थानीयवासी त्रासमा परेका छन् ।
बाँध मर्मतसम्भारको जिम्मा लिएको भारतीय कोसी योजनाले बाँधको उचित मर्मतसम्भारमा ध्यान नदिएकाले कमजोर तटबन्ध भत्काएर कोसीको भेल पश्चिम पस्ने जोखिम बढेको कोसीपीडितहरुको भनाई छ । कोशीको पश्चिीमी भागमा लापरबाही गर्दै भारतीय योजनाले बालुवाको कमजोर तटबन्ध बनाएकाले जोखिम बढेको हो ।
डलुवा भन्ने स्थानमा १३ वटा सिपेज फुटेर कोशी पश्चिम पस्ने खतरा बढेको कोशी पीडित समाजका अध्यक्ष देवनारायण यादवले जानकारी दिए ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवामा नदीको भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको उनले बताए । नेपाल हुँदै भारततर्फ बग्दै आएको सप्तकोसी नदीअन्तर्गत तटबन्धसहित सबै सुरक्षा तथा बचाउको काम कोसी सम्झौताअनुसार भारतको हो । नेपालले भारतीय प्राविधिक र बचाउ कामको सुरक्षा गर्ने सम्झौतामा उल्लेख छ । सन् १९६३ को अगस्टमा सप्तकोसीको बाँध डलुवामा फुटेपछि त्यहाँ नेपाल सरकारको अगुवाइमा भारतले करिब ५ किलोमिटर दूरी भएको अर्को तटबन्ध निर्माण गरेको थियो ।
अहिले फेरि कोसीका भारतीय अधिकारीको उदासीनताले उक्त रिङ बाँधलाई राम्ररी मर्मतसम्भार नगरेका कारण ५७ वर्षपछि पुनः सोही स्थानमा तटबन्ध भत्किने जोखिम बढेको छ । डलुवामा तटबन्ध भत्किए हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै २५ हजार परिवार विस्थापित हुने खतरा छ ।