असार २७ काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले जनतालाई रोग र भोकबाट बचाउने दायित्व सरकारको भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना संकट र बाढी पहिरोले देशभर पुर्याएको क्षतिको विषयमा केन्द्रित भएर देशका नाममा सम्बोधन गर्दै आफुले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताए । प्रधानमन्त्रीले महामारी र प्राकृतिक विपद्को समयमा पनि पार्टीभित्र बहस हुनुलाई नियमित मान्न आग्रह गरेका छन् । उनले आपसी छलफलबाटै राजनीतिक समस्याको समाधान हुने पनि दाबी गरेका छन् ।
प्रधानमन्त्रीले आम नेपालीका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुने पनि बताएका छन् ।
‘यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन। मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन’, प्रधानमन्त्री ओलीले भने ।
संवोधनको पूर्ण पाठ यस्तो छ :
२६ असार २०७७
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ ।
गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी÷पहिरोबाट प्रभावित भएका छन् । हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पुर्याएको छ । सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नु परेको छ । यस क्रममा ३५ जनाले ज्यानै गुमाउनु परेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन् । एक सय घर क्षतिग्रस्त बनेका छन्, ३०१ परिवार विस्थापित हुनुपरेको छ । सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको छ । संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरुलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ ।
यस्ता विपत्तीहरूबाट सुरक्षित हुन सरकारले उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरू मात्र होइन, विपत्तीमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्वका कार्यक्रमहरू पनि सँगसँगै संचालन गरिरहेको छ ।
बाढी पहिरोको यस प्राकृतिक विपद्का कारण झण्डै तीन दर्जन नेपाली दाजुभाइ दिदीबहिनीहरुको असमयमै जीवन गुमेकोमा गहिरो दुःख व्यक्त गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।