काठमाडाैं, २६ असार । मुलुकका बिभिन्न स्थानमा गएकाे बाढी पहिरोमा परि २५ जनाको मृत्यु भएको छ भने ५७ जना बेपत्ता छन् ।
सिन्धुपाल्चोक, कास्की, लमजुङ, म्याग्दी लगायत जिल्लामा बाढी र पहिरोले धनजनको क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार बिहीबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोमा परी २ जनाको भएको थियो भने मृत्यु २१ बेपत्ता भएका थिए । बाढीले १६ घर बगाएको थियो ।
यस्तै शुक्रबार कास्की, लमजुङ, म्याग्दी, जाजरकोट लगायत ८ जिल्लामा आएको प्रकोपमा २३ जनाको मृत्यु, ३६ बेपत्ता र २६ घाइते भएका छन् । प्रमुख कार्यकारी पोखरेलका अनुसा यो मानवीय र भौतिक क्षति विवरण शुक्रबार अपराह्नसम्मको हो ।
विपदमा परी घाइते भएकाको उपचार, बेपत्ताको खोज तथा उद्धार र मृतकको पहिचान गर्ने काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बताए ।
धनकुटामा ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । यस्तै सिन्धुलीमा तीन, मकवानपुर र प्यूठानको चार स्थानमा बाटो अबरुद्ध भएको जनाइको छ । दैलेखको नारायण नगरपालिका २ कुसाडाँडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको जनाइएको छ ।
यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बिहीबार खरेको पहिरोमा दुई जनाको मृत्यु भएको छ भने २१ जना सम्पर्कविहीन रहेको तथा सात घाइते भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।
आज कोशी, नारायणी नदीको बहाव उल्ल्ेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसका केही सहायक नदीसमेत खतराको आसपास पुग्ने भएकाले सावधानी अपनाउन भनिएको छ । कर्णाली, महाकाली, र यसका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल नै रहनेछ । कन्काई, कमला, वाग्मतीलगायत नदीमा बहाव बढ्दो छ ।
त्यसका केही सहायक नदीमा आकस्मिक रुपमा बहाव बढ्नसक्ने पूर्वानुमान गरिएको छ । पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्दो रहेको तर आज खतराको तहभन्दा तल नै रहनेछ । प्रदेश नं १, २, गण्डकी प्रदेशका विभिन्न ठूला तथा साना नदीहरुमा आकस्मिक रुपमा पानीको बहावको उच्च हुने सम्भावना रहेको विभागले जनाएको छ ।
अन्य प्रदेश तथा पहाडी क्षेत्र र सम्भावित जोखिम क्षेत्रका समुदायलाई सावधानी अपनाउन र सुरक्षित रहनसमेत प्राधिकरणले अनुरोध गरेको छ ।