असार २६ म्याग्दी । अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिनुका ३२ जना वेपत्ता भएका छन् ।
धौलागिरि र मालिका गाउँपालिकामा पहिरो जादा वेपत्ता भएकाहरुको खोजी गर्न टोली खटिएका छन् ।
धौलागिरि–६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएको वडाध्यक्ष राजाराम सुवेदीले बताए । उनका अनुसार पहिरोले समस्यामा परेकाको उद्धार समेत हुन सकेको छैन ।
त्यसै गरी मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ तथा भारवाङमा गएको पहिरोमा परी सोमनाथ शर्मा पौडेलकी पत्नी विष्णु शर्मा र इच्छा पौडेल सहित कम्तीमा ८ जना बेपत्ता भएका छन् ।
‘बिमको पहिरोमा कम्तीमा ८ जना बेपत्ता भएको जानकारी आएको छ । वारिपारि दुवैतर्फ पहिरो गएको र बाढी आएकाले प्रहरी र उद्धारकर्मी कोही पुग्न सकेको छैन ।
पहिरोमा मराङको घन्टवाङ र मालिकाको बिममा थुप्रै व्यक्ति बेपत्ता हुनुका साथै ३० जनाभन्दा बढी फसिरहेको जानकारी रहे पनि खराब मौसमका कारण उद्धारका लागि हेलिकोप्टर उड्न नसकेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
‘पहिरोले बस्ती पूरै घेरिएकाले प्रहरी र स्थानीय उद्धारकर्तासमेत घटनास्थल पुग्न सकेका छैनन् । बेपत्ता र क्षतिको विवरण फोनको भरमा लिईरहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
त्यसै गरी बाढीका कारण गलेश्वरस्थित राघुघाट खोलाको बेलीब्रिज बगेको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ ।
