असार २६ काठमाण्डौं । देशभर लगातार पानी परीरहेका कारण पहिरो र जनधनको क्षति हुने क्रम रोकिएको छैन ।
यसैक्रममा पोखरामा गएराति पहिरो जादा ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए । पहिरोमा परेर अन्य ६ जना घाइते भएको र उनीहरूलाई मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
यसै गरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।
यसै गरी गए रातिको भीषण वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।