चरिकोट, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् ।
बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।
भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।
भोटेकोशी नदीमा आएको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै बेपत्ता भएका छन्। बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । स्थानीयका अनुसार बाह्रबिसको गाती बजार बगाएको बताए। बाढीले हराइरहेकाहरुको खोजी कार्य भइरहेको उनले बताए।
प्रहरी निरीक्षक न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति बेपत्ता भएको बताए। ‘मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ मबाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु प्रहरी निरीक्षक न्यौपानेले बताए। बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ।
उता, विरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा क्षति पुर्याएपछि उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।