रुकुम असार २४। रुकुम पश्चिममा नेहा विष्ट नाम गरेकी एक २१ बर्षे युवतीमाथि प्रहरी र नगर प्रहरीकी एक महिला कर्मचारीले निर्घात रुपले कुटपिट गरेको भिडियो भाईरल बनेको छ ।
रुकुम पश्चिम आठबीसकोट नगरपालिकामा यो घटना भएको थियो । नगर प्रहरी र प्रहरीले २१ वर्षीय नेहा विष्टलाई निर्घात अमानवीय तरिकाले कुटेको भिडियोमा स्पष्ट देख्न सकिन्छ । घरी कपालमा समात्ने, घरी लाठीले हान्ने र लडाउने घरी मुक्का हान्ने गरेको भिडियोमा स्पष्ट देख्न सकिन्छ ।
ती महिलालाई पाईपबाट पानीले समेत भिजाएको देखिन्छ । उनले पटक पटक बरु मलाई मार भनेको सुन्न सकिन्छ । अन्य प्रहरीले पनि बेला बेलामा लाठीले हानेको देखिन्छ भने नगर प्रहरीकी महिला कर्मचारीले बढी कुटपिट गरेको देखिन्छ ।

दुई जना पुरुष प्रहरी र एक महिला नगर प्रहरी मिलेर महिलामाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालहरुमा व्यापक विरोध भएको छ ।
हेल्थ डेस्कमा रहेकी स्वास्थ्यकर्मी डोल्मा मल्ललाई अश्लिल गाली गरेर हातपात गरेपछि नियन्त्रणमा लिने क्रममा यस्तो कुटपिट गरिएको बताईएको छ ।
जिल्ला प्रह्ररी कार्यालय रुकुमले उक्त घटनाबारे व्यापक विरोध र आलोचना भएपछि उक्त घटनाबारे छानबिन र कार्बाही प्रकृया अघि बढेको जनाएको छ ।
घटनामा संलग्न प्रहरीलाई निलम्बन गरेर छानबिन थालेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
उक्त महिलाले मादक पदार्थ सेवन गरेर आएको र स्वास्थ्य जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी डोल्मा मल्ललाई अश्लिल गाली गरी हातपात गरेको र हेल्थडेस्कको डोरी चुँडाली कुर्सीसमेत फालेकाले डेस्कका सुरक्षाकर्मीले सम्झाइबुझाई गर्दा समेत नमानेपछि नियन्त्रणमा लिएको र पछि उनकै दिदीको जिम्मामा वडा नं ९ का अध्यक्ष तारक शाहीको रोहबरमा छाडिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
